काठमाडौँ – नुवाकोट ककनीको त्रिशूली ‘थ्रि ए’ विद्युत प्रसारण लाइनमा झुन्डिएका माइला विकलाई ललितपुरको पाटन मानसिक अस्पताल ल्याउने तयारी भएको छ।
शनिबार बिहान करिब १० बजे ककनी गाउँपालिका-७ स्थित प्रसारण लाइनमा चढेका बेलकोटगढी नगरपालिका-१३ घलेगाउँका ४५ वर्षीय विकलाई पाटन अस्पताल ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।
‘नेपाली सेनाले हामीलाई जिम्मा लगाएको छ,’ उनले भने, ‘ललितपुरको पाटन अस्पताल ल्याउने तयारी भइरहेको छ।’
प्रमुख जिल्ला अधिकारीले विकलाई ललितपुर ल्याउने तयारी गरिरहेको उनले बताए। विक मानसिक रूपमा अस्वस्थ रहेको प्रहरीले बताएको छ। दिनभर प्रयास गर्दा पनि उनलाई प्रसारण लाइनको तारबाट उद्धार गर्न सकिएको थिएन।
‘उहाँ मानसिक रूपमा अस्वस्थ भएको कारण घर परिवारले पनि छाडेको भन्ने बुझियो,’ उनले भने।
सुरूमा उनको उद्धार गर्न नेपाल प्रहरीको टोली पुगेको थियो। तर केही गर्न नसकेपछि सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षकको कमान्डमा पनि टोली खटिएको थियो।
तैपनि उद्धार गर्न नसकेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनाको सहयोग मागेकी थिइन्। नेपाली सेनाको हेलिकप्टरसहित गएको टोलीले साँझ विकको उद्धार गरेको हो।
प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि माथिल्लो त्रिशुली थ्री ए लगायतका केही आयोजनाको बिजुली उत्पादन बन्द गर्नु परेको थियो । प्रणालीमा ६५ मेगावाट बिजुली अपुग भएको छ ।
माथिल्लो त्रिशुली थ्री ए ६० मेगावाट क्षमतामा नै चलीरहेको थियो भने अन्य केही आयोजनाको बिजुली समेत सोही प्रसारण लाइनमार्फत काठमाडौँ ल्याइएको छ । स्थानीयवासीका अनुसार प्रसारण लाइनमा चढ्ने व्यक्ति बेलकोटगढी नगरपालिका १३ घलेगाउँका ४४ वर्षीय माइला विक हुन् ।
विक शनिबार बिहान ११ बजेदेखि उच्च भोल्टेजको बिजुलीको तारमा चढेको जानकारी आएपछि लाइन काटिएको थियो। उनी परिवारसँग झगडा गरेर बिजुलीको तारमा पुगेको स्थानीयले बताएका छन्।