तारैतार हिँडेर काठमाडौं आउने दाउमा थिए माइला, जे भने सबै छक्क परे !

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn

काठमाडौं, मैले धर्ती नै छाड्न खोजेको हो । आफ्नै घाँटी रेट्न सकिएन । आँखामा परेको कसिंगर पनि आफैँ झिक्न सकिन्न, साथी चाहिन्छ,’ तारकेश्वर नगरपालिका वडा नम्बर ७ स्थित नवजीवन परोपकार समाजमा पुग्दा माइला बिक अर्थात् हिमबहादुर सुनारले मनको बिरह पोखे ।

४२ वर्षीय माइला तिनै व्यक्ति हुन्, जसले शनिवार दिनभर नुवाकोटमा बिजुलीको तारमा बसेर सिंगो राज्यलाई नै हैरान बनाएका थिए । अहिले उनी नवजीवन परोपकार समाजको संरक्षणमा छन् ।

साँझ हेलिकप्टरसहित पुगेको नेपाली सेनाको विशेष टोलीले उद्धार गरेपछि प्रहरीले उनलाई त्यहाँ ल्याएर संस्थाको संरक्षणमा छाडेको हो ।

आइतवार दिउँसो भेट्न पुग्दा हिमबहादुरले मर्न सजिलो रहेन छ भन्ने निष्कर्ष सुनाए– ुभाग्यमा छैन भने त यत्तिकै मर्न पनि पाइँदैन । अनि दिन आएपछि जान्नँ भन्न पाइँदैन, जानैपर्छ ।’ पारिवारिक तनावले बिजुलीको पोलमा चढेको उनको भनाइ छ ।

कसरी चढियो त बिजुलीको पोलमा ? प्रश्न भुइँमा खस्न नपाउँदै उनले ठट्यौली शैलीमा गम्भीर कुरा सुनाए ।

‘अब सिधै माथि जाने भनेर खम्बामा गएर पहिले ढोगें । हे ईश्वर ! अब तिमी र म सँगै बस्ने ल भनेर विस्तारै माथि चढ्दैचढ्दै गएँ । माथि गएपछि त कोही माइल्दाइ भन्न थाले, कसैले ओइ काले तल झर भन्न थाले । मलाई रिस उठ्दै गएपछि ल आइज न त भनेर अझै माथि गएँ । जेहोस्, सप्लाइ भो । मनको चाहना सप्लाइ भो’ उनले भने ।

माथि गइसकेपछि आफूलाई तल आउनै मन नलागेको उनले बताए । ‘ढोग्दा करेन्ट लागेन । यसो सोचें, यो खतरा करेन्ट भन्या छ, बीचतिर गएर बस्छु । त्यहाँ बस्यो भने कोही पनि आउँदैन भन्ने लाग्यो । सुइँसुइँ माथि गएँ, अझै करेन्ट लागेन । माथि गएपछि तल आउन मन लागेन ।’

उनले थपे, ‘माथि उड्न सजिलो हुने रहेछ, तल गाह्रो । त्यहाँ त काँडाले पनि नघोच्ने, सुइँसुइँ लठ्ठा तान्यो, कस्तो मज्जा ! आफूलाई अझै रिस उठाएको भए तारैतार हिँडेर काठमाडौं आइदिन्थें भन्ने गफ पनि उनले दिए ।

उनको मानसिक स्वास्थ्य जाँचका लागि सोमवार पाटनस्थित मानसिक अस्पताल लैजाने तयारी भएको संस्थाकी सचिव शान्ति तिवारीले लोकान्तरसँग बताइन् ।

-विश्वास खनाल, लोकान्तर।