काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आले पुनः विवादमा तानिएका छन्। उनले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका हुन्।
पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न (आफूले पठाएका व्यक्तिलाई जागिर दिन) अह्राएका थिए। अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेका थिए। केहीलाई लगाउने प्रक्रियामा थिए।
मन्त्री निरन्तर ताकेतामा मात्र थिएनन्, तुरुन्त राखी दिन धम्क्याउँदै आएका थिए। स्रोत भन्छ– अधिकारीले तलबाट दरबन्दी बनाउन, टिप्पणी आउन बाँकी रहेको कारण देखाएका थिए।
आलेले गरेको गालीगलौजसहितको अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को विरोध सुरु भएको छ।आले पटक पटक विभिन्न बहानामा आलोचित हुँदै आएका छन्।
यसअघि पनि मन्त्री आलले कामको सिलसिलामा भारतको मुम्बई पुगेका एक नेपाली युवकसँग गालीगलौज गरेको भिडियो सार्वजनिक भएको थियो। त्यतिबेला २ मिनेट २५ सेकेन्डको भिडियो सार्वजनिक भएको थियो।
त्यतिबेला आलेको राजीनामासमेत माग भएको थियो। मन्त्री आलेको सचिवालयले त्यतिबेला तथ्यहीन आरोप लगाउन खोजेको भन्दै खण्डन गरेको थियो।
पहिलो धम्की : फोनबाट
केही दिनअघि मन्त्री आलेले अधिकारीलाई टेलिफोन गरे।
अधिकारी : हेलो।
आले : हेलो।
अधिकारी : हजुर मन्त्रीज्यू, नमस्कार।
आले : नमस्कार। अब नगर्नुहोस् है तपाईं। पर्दैन, तपाईंले गर्न।
अधिकारी : किन नि ! के गरिनँ र ?
आले : घण्टा गर्ने …(अश्लील शब्द) सोमबार, सोमबार। …(अति अश्लील शब्द) गर्ने सोमबारसम्म।
अधिकारी : होइन, उ… माग्नुपर्यो नि त्यो तलबाट।
आले : पर्दैन, पर्दैन माग्नु। पर्दैन।
अधिकारी : … यति–यति चाहियो भनेर।
आले : पख, पर्दैन, पर्दैन। पर्दैन गर्नु अब।
अडियो सुन्नुस्:
Annapurna Post · पर्यटनमन्त्री प्रेम आलेद्वारा गालीगलौज (Part 1)
दोस्रो दुर्व्यहार : कार्यकक्षमै
दुई अडियोको शृंखला हेर्दा लाग्छ– सम्भवत : अधिकारी त्यसपछि मन्त्री आलेको कार्यकक्षमा गए।
(ढोका खुलेको सुनिन्छ। शायद त्यहाँबाट अधिकारी छिर्छन्।)
अधिकारी : मन्त्रीज्यू, नमस्कार।
आले : मोबाइल स्विच अफ गर् तेरो पहिला। स्विच अफ गर्।
(खत्र्याखुत्रुक आवाज आउँछ। शायद मोबाइल तानातान चल्छ।)
आले : चोर… (अति अश्लील शब्द)। के गर्छस् तैंले ? मेरो के घण्टा गर्छस् तैंले ? के
गर्छस् ? … (अति अश्लील शब्द)।
(डाङडाङ डुङडुङ आवाज आउँछ, हातपात गरेको प्रस्टै थाहा हुन्छ)
अस्पष्ट आवाज : मन्त्रीज्यू नगर्नुहोस्। मन्त्रीज्यू नगर्नुहोस्।
तेस्रो व्यक्तिको आवाज सुनिन्छ : मन्त्रीज्यू प्लिज।… मन्त्रीज्यू नगर्नुहोस्।
आले : सेन्टरमा तान्दिन्छु भोलि। … (अति अश्लील शब्द)।
अधिकारी : मिलाउँछु भनिसकेँ त।
आले : तैंले के गर्छस् ?
अधिकारी : मैले गर्छु भनिसकेँ त अनि। भइहाल्यो त।
आले : कति चोटि भन्ने ? कति चोटि भन्ने ? कति चोटि भन्ने ? हँ ? भन् त ?
(केही अस्पस्ट कर्याक–कर्याक आवाज आउँछ। सम्भवत : मन्त्रीले अधिकारीको शरीरमा कुनै डिभाइस छ कि भन्ने आशंकामा छामछुम गर्छन्।)
अधिकारी : छैन, छैन। केही छैन।
आले : स्विच अफ गरेर अगाडि राखिदे।
तेस्रो व्यक्ति : अफै गर्दिनु ? हस्।