पूरा भएन झाँक्रीको यो रहर, रुँदै भइन् बिदा !

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn

काठमाडौँ – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बजेटको डिफेन्स गर्ने चाहनाले पार्टीले राजीनामा मागेको भन्दा केही दिन ढिलोमात्र पद छाड्नुपरेको बताएकी छन् । आइतबार सहरी विकास मन्त्रालयमा आयोजित कार्यक्रममा अश्रुधारा झाँदै झाँक्रीले पार्टीको निर्णय मान्न तयार हुँदाहुँदै आफूहरुले थाहा नै नपाई पार्टी निर्णय मिडियाबाट सार्वजनिक भएकोमा केही चित्त दुखाई भएको सुनाइन् ।

उनले आफूलाई बजेटको डिफेन्स गर्ने रहर रहेको र राष्ट्रिय सभामा बजेटबारे उठेका प्रश्नको आइतबार जवाफ दिएपछि जिम्मेवारी छोडेको जानकारी पनि दिइन् । ‘खासगरी मलाई चाही बजेटको डिफेन्स गर्ने रहर थियो त्यो आजबाट सकियो’, झाँक्रीले बिदाइ कार्यक्रममा भनिन् ।

उनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्दैन भनेको सुनाउँदै आफूहरुले कुनै कसुरजन्य काम नगरेकाले राजीनामा दिनुपर्ने आवस्यकता नरहेको पनि बताइन् । ‘प्रधानमन्त्रीले पनि त्यही कुरा भन्नुभयो, सायद अब उहाँले भरे भोली नै मन्त्रिमण्डल हेरफेर गर्नुहुन्छ होला’, झाँक्रीको भनाइ छ ।

‘आगामी दिनमा पनि काम गर्दै जाउँला’, मन्त्री झाक्रीले भनिन्, ‘खासै बोल्नुपर्ने कुरा केही छैन।’

उनले बारम्बार आँसु पुछिन्। बोल्न नसक्ने अवस्था उत्पन्न भएपछि घोसेमुन्टो लगाइन्। मन्त्री झाक्रीलाई मन्त्रालयले चिनो उपहार गरेर बिदाइ गरेको छ।