Connect with us

समाचार

हमासले फालेको ग्रिनेट टिपेर फ्याँक्दै बचाए धेरैको ज्यान, पछि उनैलाई हमासले लग्यो !

Published

on

काठमाडौँ – सत्ताईस दिनदेखि बेपत्ता नेपाली विद्यार्थी विपीन जोशी हमास समूहको कब्जामा रहेको इजरायल सरकारले जानकारी दिएको छ । नेपाल सरकारलाई आधिकारिक रूपमा पत्राचार गरेर इजरायलले जोशी हमास समूहको बन्धक रहेको सूचना दिएको हो । उक्त कुरालाई नेपालको परराष्ट्र मन्त्रालयले पनि पुष्टि गरेको छ । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

मन्त्रालयका एकजना अधिकारीका अनुसार थाइल्यान्डका विद्यार्थीहरूसँगै विपीनलाई पनि हमास समूहले कब्जामा लगेको पत्ता लागेको इजरायल सरकारले प्रतिक्रिया दिएको छ । तर उनको अवस्था र राखिएको स्थान भने खोज्न नसकिएको इजरायलले जनाएको छ ।

जोशी हमास समूहको कब्जामा रहेको कुरा इजरायलले बल्ल आएर पुष्टि गरे पनि नेपाल सरकारले भने यो कुराको पहिल्यै अनुमान लगाइसकेको थियो । प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले आक्रमणकारीद्वारा थाइल्यान्डका विद्यार्थीसँगै उनलाई लगेको बताउँदै आएका छन् ।

‘विपीन जोशीलाई लगेको मैले देखेको छु,’ हमास समूहको आक्रमणमा घाइते भएका नेपाली विद्यार्थी हिमाञ्चल कट्टेलले भनेका छन्, ‘दुई तीनजना थाई (थाइल्यान्डका नागरिक)सँग उनलाई लगेको मैले देखेको हुँ ।’ हमास समूहले कब्जामा लैजानुअघि विपीनले हमास समूहले फालेको ग्रिनेट पन्छाउनेदेखि लिएर घाइते साथीलाई अस्पताल लैजान एम्बुलेन्स बोलाउनेसम्मका काम गरेको प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले बताएका छन् ।

विपीनलाई हमास समूहले कब्जामा लिएको भनिए पनि उनको हालको अवस्थाबारे यकिन जानकारी भने कतैबाट आएको छैन । हमास समूह स्वयंले आफूसँग बन्धक रहेको कुरा स्वीकार नगर्दासम्म उनको अवस्था यकिन नहुने प्रस्ट छ । यसरी विपीनको अवस्था महिना दिनसम्म अज्ञात रहँदा आफन्तजन मात्र नभई नेपाल सरकारका तर्फबाट पनि विभिन्न पक्षहरूसँग उनको अवस्था जानकारी लिन हारगुहार चलिरहेको छ । नेपाली विद्यार्थीको कुरा सुनेलगत्तै परराष्ट्रमन्त्री एनपी साउदले जोशीको अवस्थाबारे पत्ता लगाइदिन अन्तर्राष्ट्रिय कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय रेडक्रस (आइसिआरसी), अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थासँग अपिल गरेका थिए । यस्तै परराष्ट्र मन्त्रालयले समेत सहयोगको आह्वान गरेको थियो ।

यस्तै हमास समूहसँग मध्यस्थकर्ताको भूमिका खेलेको कतार सरकारसँग पनि नेपाल सरकारले पहल गरिरहेको छ । परराष्ट्रमन्त्री साउदले कतारी समकक्षी मोहम्मद बिन अब्दुल्लाजिज विन सलेह अल खुलाफीसँग टेलिफोन गरेर विपीनको अवस्था पत्ता लगाई रिहाइका लागि पहल गरिदिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending