सिरहा, २६ वैशाख: एकाबिहानै घर नजिकैको बारीमा आफूले लगाएको बाली र तरकारी खेती वन्यजन्तुले सखाप पारेको देख्दा गङ्गादेवी चौधरीको मन नमज्जाले कुडिन्छ ।
वर्षभरि खाने अन्न र तरकारीबाली जङ्गली जनावरले एकैदिनमा सखाप पारेपछि सिरहाको लहान नगरपालिका—१६ स्थित तरेगणाकी गङ्गादेवी अब बिहान बेलुकाको छाक टार्ने र जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्तामा हुनुहुन्छ ।
“वर्षभरी खोने अन्न र तरकारी खेती बँदेल र नील गाईले सखाप गरे । दुम्सी र बाँदरले पनि हैरान पारिरहेका छन् । हुर्किदै गरेका बालीनालीका कलिला मुन्टानै खाइदिएपछि अब कसरी उब्जनी हुन्छ । यहाँ त बालिनाली जोगाउनै मुस्किल भयो हजुर”, गङ्गादेवीले भन्नुभयो । उहाँका अनुसार वन्यजन्तुले पाक्न थालेको गहुँ, जौ, तरकारीलगायत अन्य फलफूलका बिरुवामा समेत क्षति पुर्याएको छ ।
सोही स्थानका सुकदेव चौधरीलाई पनि आफ्नो व्यावसायिक फलफूल बगैचामा बिरुवा हुर्काउन र फल जोगाउन मुस्किल छ । पछिल्लो समय वन्यजन्तु खेतबारीमा पसेपछि निकै हैरानी खेप्नुपरेको उहाँको भनाइ छ । “लिच्ची र आँपको मात्र करिब दुई सय बिरुवा लगाएको छु । त्यसैगरि अन्य फलफूलको बिरुवा हुर्किंदै छन् तर जङ्गली जनावरबाट जोगाउनै मुस्किल भयो,” चौधरीले भन्नुभयो,“सामान्य विद्युतीय झड्का दिने तारबारले घेर्दा पनि समस्या सुल्झिन सकेको छैन । अब त स्थानीय सरकारले केही उपाय निकालेर हाम्रा बालिनाली जोगाइ दिनुपर्यो ।”
पछिल्लो समय सिरहाका दर्जनौँ सामुदायिक वनमा आगलागी हुँदा वन्यजन्तु आहारा र बासस्थानको खोजीको लागि बस्ती छिरेका छन् । त्यसैले स्थानीयलाई बालिनाली जोगाउन हम्मेहम्मे परेको वडाध्यक्ष गडुलबहादुर गर्जामगरले जानकारी दिनुभयो । उहाँका अनुसार चैत नलाग्दै सुरूभएको डढेलो अहिले पनि आक्कलझुक्कल लागिरहेकै छ । स्थानीयबासीले आगोेबाट बस्ती जोगाए पनि वन जोगाउन सकेका छैनन् । त्यसैले अहिले नजिकैको वन उजाड भएका छन् । “आगोबाट बस्ती जोगाइयो तर अन्नबाली जोगाउन सकिएन । आगलागीपछि ज्यान जोगाउन खेतखलियान प्रवेश गरेका वन्यजन्तु र किसानका लागि भने हैरानीका कारण बनेका छन्”, वडाध्यक्ष गर्जामगरले भन्नुभयो,“डढेलो लागेपछि वनक्षेत्रमा खानेकुराको अभाव हुनु, बासस्थान नासिनु र सिकारीको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य वन्यजन्तु आहाराको खोजीमा बस्ती पसेका हुन् ।”
उहाँका अनुसार अन्य समयमा पनि जङ्गली जनावर बस्ती छिरे पनि जङ्गलमा डढेलोपछि भने अहिले बाक्लै मात्रामा गाउँतिर पस्ने गरेको छन् ।
जङ्गल डढेलोले उजाड भएपछि कतिपय जङ्गली वन्यजन्तु गाउँघरका झाँडीतिर लुकेर बसेको अवस्थामा भेटिएको कोइरालो खोला नमुना सामुदायिक वनका अध्यक्ष रुद्रनारायण चौधरीले बताउनुभयो । निरन्तर लागेको डढेलोले वन्यजन्तुले जङ्गलमा आफूलाई असुरक्षित ठानी गाउँ पस्ने गरेको हुनसक्ने अध्यक्ष चौधरीको भनाइ छ । “मानवले वन्यजन्तुको घरमा असर पु¥याएपछि जङ्गली जनावर बस्तीतीर पस्नु स्वभाविकै हो । हामै्र सामुदायिक वनमा अहिलेसम्म तीनपटक डढेलो लागिसक्यो जसलाई नियन्त्रण गर्न हम्मेहम्मे पर्यो । अनि वन्यजन्तुले ज्यान जोगाउन त परिहाल्यो नि !” वनबाट बस्ती छिरेका वन्यजन्तुबाट बालिनाली जोगाउन र सिकारीबाट वन्यजन्तु जोगाउन निकै सकस भइरहेको बताउने चौधरीले अब स्थानीय तहले यस्ता क्रियाकलापमा सङ्लग्नहरूको पहिचान गरी कारवाहीको दायरामा ल्याउनुपर्नेमा आवश्यकता औल्याउनुभयो ।
यता जिल्ला वन कार्यालय सिरहा, लहानले भने विगत दुई महिनादेखि जङ्गलमा डढेलो नियन्त्रण गर्न समस्या भइरहेका बेला मङ्गलबार रातिदेखिको सामान्य मनसुनी वर्षाले केही राहत भएको बताएको छ । हालसम्म लहान नगरपालिकाको उत्तर चुरेतर्फ ४५ सामुदायिक वनमध्ये १२ वटा सामुदायिक वनको कूल ७० हेक्टर वनमा डढेलोले क्षति पु¥याएको कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिनुभयो ।
डढेलोका कारण बस्ती पसेर स्थानीयको बालीनालीमा क्षति पुर्याएका वन्यजन्तु र यही मौका छोपी वन जङ्गलमा चोरी सिकारी गर्नेमाथि वन कार्यालयले कडा निगरानी बढाएको सूचना अधिकारी चौधरीको भनाइ छ ।
लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले डढेलो नियन्त्रण गर्न नगरले दमकल सेवासहित आवश्यक जनशक्ति अहोरात्र खटेका र वन्यजन्तुबारेको गुनासोमा पनि आवश्यक सतर्कता अपनाइने बताउनुभयो । “मंगलबार पनि वडा नं १५ स्थित बानो गाउँको सामुदायिक वनमा आगलागी भएको खबर पाउनासाथ जनशक्ति र बारुण यन्त्रसहित म आफैँ घटनास्थल पुगेँ । स्थानीयवासी, सामुदायिक वनका सदस्य र वारुणयन्त्रको मद्दतले आगलागी समयमै नियन्त्रणमा आयो । अहिले भने वर्षाले केही राहत भएको छ”, नगरप्रमुख चौधरीले भन्नुभयो ।
उहाँ वन्यजन्तुले यहाँका किसानको बाली र तरकारीमा गरेको नोक्सानीको उचित क्षतिपूर्तिका लागि नगरपालिकाले आवश्यक योजना अगाडि सार्ने बताउनुहुन्छ । “वनमा डढेलो लाग्दा वन्यजन्तु वस्तीमा पसेर दुःख दिएको र बालिनालीमा क्षति पुर्याएको विषयमा गुनासा आइरहेका छन् । त्यस विषयमा नगरले उचित कदम चल्छ”, चौधरीको भनाइ छ ।