HOMEPAGE
१२ श्रावण २०८१, शनिबार

मातातीर्थ औँसीः जलेश्वरको अन्धाअन्धीमा भक्तजनको घुइँचो

जलेश्वर (महोत्तरी), २६ वैशाख : मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन आज बिहानदेखि महोत्तरीको लोहारपट्टि नगरपालिका बगडा गाउँमा अवस्थित प्रसिद्ध ऐतिहासिकस्थल अन्धाअन्धीमा भक्तजनको घुइँचो लागेको छ ।

आमाबुवालाई आफ्ना सर्वस्व मान्ने र आमाबुवाकै सेवालाई महान् धर्म मान्नेहरुको आस्थाका केन्द्र मानिएको सो स्थानमा आज आमाको मुख हेर्ने दिन भक्तजनको घुइँचो लागेको स्थानिय बताउँछन् । जिल्लाको उत्तरपूर्व कुना धनुषा जिल्लासँग जोडिएको छ । लोहारपट्टि–१ बगडा गाउँमा अवस्थित रामायणकालीन अन्धाअन्धी स्थानले पौराणिक एवं धार्मिक महत्व बोकेकाले हजारौँ भक्तजन दर्शन गर्न आउने गरेका स्थानीय श्याम यादवले बताउनुभयो ।

उहाँका अनुसार रामायणकालमा मातापिताका अनन्य भक्त श्रवण कुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी बाण लागेर आफ्नो छोरा श्रवण कुमारको मृत्यु भएको सुनेपछि प्राण त्याग गरेको किंवदन्ती रहेको छ ।

विगतमा यहाँ दैनिक मेला लाग्ने र टाढाटाढाबाट दर्शनार्थी आउने गरेकामा अहिले यहाँ विशेष दिनहरुमा मात्रै मेला लाग्ने गरेको श्रीचन यादवले बताउनुभयो । पछिल्लो समय मातातीर्थ औँसी तथा बुबाको मुख हेर्ने दिनमा मात्रै श्रद्धालु भक्तजन यहाँ आउने गरेका उहाँको भनाइ छ ।

आजका दिन अन्धाअन्धी स्थानमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सिन्धुलीलगायत भारतको पटनासम्मका मानिस आउने गरेको स्थानीय शिवु राय यादवले बताउनुभयो । बुबाआमा नभएकाहरुले यहाँ आफ्ना बुबाआमाको सम्झना गर्ने गरेका उहाँको भनाइ छ ।

पछिल्लो समय महोत्तरीका साथै छिमेकी जिल्ला र भारतबाट पनि भक्तजन बाबु र आमाको मुख हेर्ने दिनमा यहाँ आउने गरेको भन्दै सो दिन भक्तजनको घुइँचो लाग्ने गरेको स्थानीय वृद्ध नथुनी यादवले बताउनुभयो । “रामायणकालमा मातापिताका अनन्त भक्त एवं परम आज्ञाकारी छोरा श्रवणकुमारले आफ्ना तिर्खाएका अन्धाअन्धी बाबुआमालाई महोत्तरीको बगडास्थित यसै ठाउँमा राखेर पानी ल्याउन नजिकैको महदैया तपनपुरको कमलदहमा गएका बेला राजा दशरथले श्रवणकुमारका बाबुआमालाई छोरा मरेको सुनाएपछि राजाको शब्दभेदी बाण लागेर उनीहरुको मृत्यु भएको किंवदन्ती छ”, उहाँले भन्नुभयो, “अन्धाअन्धीले प्राण त्याग गरेको दिनदेखि नै यस स्थानलाई अन्धाअन्धीको नामले स्थापित गरिएको थियो ।”

स्थानीय तह तथा अन्य सरोकारवाला निकायको उदासीनताका कारण यस स्थानको संरक्षण, संवद्र्धन हुन नसक्दा ऐतिहासिक एवं पौराणिक स्थान ओझेलमा पर्दै गएको स्थानीयले गुनासो गरेका छन् । स्थानीयले धार्मिक एवं ऐतिहासिक महत्व रहेको अन्धाअन्धीको संरक्षण, संवद्र्धन गरी पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्ने तीनै तहका सरकारसँग माग गरेका छन् ।

प्रतिकृया

Leave A Reply

सम्बन्धित समाचार

सम्पर्क

सूचना विभाग दर्ता नम्बर : 000 / 0000/000
मोबाइल : ९८0000000 / ९८00000000
इमेल :lekhpatraofficial@gmail.com
काठमाडौँ महानगरपालिका 

हाम्रो टिम

अध्यक्ष:
सल्लाहकार सम्पादक :
सम्पादक:

ताजा समाचार

चर्चित